loader

Breaking News

दार्जीलिङमा पहिलोपल्ट महिला प्लगिङ च्याम्पियनशीप सम्पन्न

Image
 


दार्जीलिङमा पहिलोपल्ट महिला प्लगिङ च्याम्पियनशीप सम्पन्न भयो। शुक्रबार दार्जीलिङमा आयोजित महिला प्लगिङ च्याम्पियनशीप युवा महोत्सव 2025 को एक भागको रूपमा मेरो दार्जिलिङ पहलद्वारा समर्थित थियो। च्याम्पियनशीपमा 180 भन्दा बढी महिलाहरूले भाग लिँदै सडकमा निस्किएका थिए। उनीहरूले सफाईसँगै एकत्रित फोहोरलाई आफ्नो पिँठ्युमा बोकेर परम्परा र फिटनेसको अनुपम उदाहरण प्रस्तुत गरे। सहभागीहरूले मिलेर लगभग 895 किलो फोहोर जम्मा गरेको बताइएको छ ।  
कार्यक्रमको अद्वितीय ढाँचाअनुरूप चाँडो दौड्नेलाई होइन तर सङ्कलन गरिएको फोहोरको तौलको आधारमा विजेता घोषित गरियो। यस क्रममा नेपाली गर्ल्स हाई स्कूलकी छात्रा मनिता थामीले 6.170 किलो फोहोर संकलनका साथ पहिलो स्थान हासिल गरिन्, त्यसपछि रेमित लेप्चा 6.03 किलो र अनुपमा तामाङले  5.65 किलो फोहोर संकलन गरेर दोस्रो र तेस्रो स्थान ओगट्न सफल भए। औसत रूपमा, प्रत्येक सहभागीले लगभग 5 किलो फोहोर बोकेका थिए, जसले शारीरिक प्रयास र सामुदायिक प्रतिबद्धता दुवैलाई दर्शाउँछ। विजेताहरूलाई क्रमैले 10 हजार, 7 हजार र 5 हजार नगद राशि प्रदान गरिएको थियो। 
च्याम्पियनशिपमा हरेक उमेर वर्गमा महिलाहरूले भाग लिएका थिए, जसमा सबैभन्दा कम उमेरकी सहभागी 14 वर्षीया सलोनी मोथे थिइन् भने सबैभन्दा बेसी उमेरकी 77 वर्षीया कुम कुम राई थिइन्। कार्यक्रममा एभरेस्ट आरोहण गर्ने प्रतिमा राईले दौडलाई झण्डा देखाएर प्रस्थान गरराएकी थिइन्। कार्यक्रममा उनीसँगै  डीएसपी ट्राफिक शेरब लेप्चा, दार्जिलिङ नगरपालिकाका अध्यक्ष दीपेन ठकुरी र उपाध्यक्ष प्रतिभा राई तामाङ विशेष रूपमा उपस्थित थिए। 
यस च्याम्पियनशीपलाई मेरो दार्जिलिङ अभियानबाट प्रेरणा प्राप्त भएको थियो, जसले नागरिकहरूलाई प्रत्येक सप्ताहन्तमा दुई घण्टा दौडका साथ फोहोर उठाउन समर्पित रहन प्रेरित गर्दै आएको छ। 
आयोजकहरूले महिलाहरूलाई लिएर आयोजित यस कार्यक्रमलाई भविष्यका लागि प्रस्तावित मेगा प्लगिङ च्याम्पियनशीपतर्फ पहिलो खुड्किलोको-को रूपमा वर्णन गरेका छन्। यसैबीच मेरो दार्जिलिङकी संस्थापक सदस्य काब्य लामाले पुस्तादेखि महिलाहरूले आफ्नो घर सफा राख्दै आएको र आज, उनीहरूले त्यही भावनालाई सडकमा लिएर आएको बताइन्।  उनले यो केवल दौड मात्र होइन - यो सम्पूर्ण समुदायको लागि सन्देश हो भनी बताइन्। यसरी नै दार्जीलिङ नगरपालिकाकी उपाध्यक्ष प्रतिमा राईले स्वस्थ जीवनका लागि फिट शरीर र सफा वातावरण दुवै आवश्यक रहेको बताउँदै दार्जीलिङका महिलाहरूले यो परिवर्तनको नेतृत्व गरेको देख्दा गर्व अनुभव गरेको बताइन्।


Leave a Comment